राष्ट्रिय सभामा अघि बढ्यो पानी जहाज विधेयक
नेपालले समुन्द्रमा पानी जहाज चलाउने बाटो खुल्दै


विहिबारको राष्ट्रिय सभा बैठकबाट पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ अघि बढेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधेयक–पेश गरेसँगै पानी जहाज सञ्चालन सम्बन्धी प्रक्रिया अघि बढेको हो । मन्त्री दाहालले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव समेत अघि सारेका छन् । राष्ट्रिय सभामा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री दाहालले पानी जहाज दर्ता ऐन, २०२७ मा समुद्रमा नेपाली पानी जहाज सञ्चालनको आधार नरहेकाले नयाँ विधेयक ल्याईएको बताए । उनले समुद्र माथि भुपरिवेष्ठित देशहरुको अधिकार रहने भन्दै त्यसको उपयोगका लागि कानूनी धरातल तयार पार्ने दाबी गरे ।
विधेयक पारित भई कानूनको रुपमा आए पछि समुद्रहरुमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनको ढोका खुल्ने छ । यस्तै नेपाल भित्रका नदी तथा जलाशयहरुमा सञ्चालन हुने जलयान तथा पानी जहाजहरु नियमन र व्यवस्थापनका लागि समेत कानूनी आधार तयार हुने भएको छ । आइतबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको मन्त्री दाहालले जवाफ दिए पछि ‘विधेयक माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गरिएको थियो । प्रस्ताव माथि कसैले पनि असहमति नजनाए पछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सर्वसम्मत् पारित भएको घोषणा गरेका थिए ।
