माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण कार्य सुरु
२४ महिनामा निर्माण सक्ने लक्ष्य


काठमाडाैं । ३७ मेगावाट क्षमता भएको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको निर्माण कार्य सुरु भएको छ। २६ महिना भित्र केन्द्रीय ग्रिडमा जोड्ने तयारी सहित म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदी नाउरामा आयोजना निर्माण गर्न सुरु गरिएको हो।
हाइड्रो इम्पाएर प्राली प्रवर्द्धक रहेको आयोजनाले स्रोत साधन र जनशक्ति परिचालन गरेको छ । २४ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य सहित निर्माण थालिएको यो आयोजना २६ महिना भित्र राष्टिय प्रशारण लाइनमा जोड्ने तयारी गरिएको हो । २०८२ चैत मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम सुरु गरिएको छ । आयोजनाका अनुसार म्याग्दीको २ स्थानमा ५० र ३० मेट्रिक टन क्षमताको बेलिब्रिज जडान गरेर आयोजना निर्माण स्थलसम्म पहुँच मार्ग विस्तार गरिएको छ ।
सिन्कोस र म्याग्दी खोलाको दोभान भन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध निर्माण गरिने छ ।, म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेड रेस सुरुङ बन्ने आयोजनाको बिद्युतगृह म्याग्दी खोला र मुदी खोला भन्दा एक किलोमिटर माथि निर्माण थालिएको हो । ४ किलोमिटर लामो सुरुङबाट ल्याइने पानी तीन सय दशमलव ८८ मिटर अग्लो हेडबाट बिद्युत गृहमा खसालेर बिद्युत् उत्पादन गर्ने तयारी छ ।
६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र सर्वसाधारणको सेयर बाहेक सिद्धार्थ बैङ्क, नेपाल एसबिआई, सिटिजन्स बैङ्क, एभरेस्ट बैङ्क र नबिल बैङ्कको ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहने छ ।
