सडक विभागले साना सडकको जिम्मा पालिकालाई दियाे


काठमाडौँ । सडक विभागले १५० किलोमिटर सडक काठमाडौँ र ललितपुर महानगरलाई हस्तान्तरण गर्ने भएको छ । मुख्य राजमार्ग सङ्घले, प्रदेशभित्रका ठुला सडक प्रदेशले र स्थानीय सडक पालिकाको मातहत रहनुपर्ने संविधानको मर्म अनुसार विभागले सो सडक हस्तान्तरण गर्न लागेको हो ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका सुपरिन्टेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेले यसअघि सडक विभागमातहत रहेका चक्रपथभित्रका साना सडक काठमाडौँ र ललितपुर महानगरलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । यी दुई महानगरपालिका क्षेत्रमा पर्ने चक्रपथ र मुख्य कोरिडोर सडक सडक विभागमातहत नै रहने उनले बताए ।
न्याैपानेले भने “काठमाडौँ जिल्ला अन्तर्गतका ५९ वटा (१०३ किलोमिटर) र ललितपुर जिल्ला अन्तर्गतका २४ वटा (४४.५ किलोमिटर) सडक हस्तान्तरण गर्न लागिएको हो । आगामी आर्थिक वर्ष (२०८२/८३) को बजेट आउनुअघि नै यी सडक हस्तान्तरण गरिने छ ।”
उनले संविधानको मर्म अनुसार सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमातहत राष्ट्रिय राजमार्ग मात्र रहनुपर्ने भए पनि अहिलेसम्म साना सडकसमेत रहेका छन् तर अब स्थानीय तह नै जनशक्ति, प्रविधि र आर्थिक दृष्टिकोणले सक्षम हुँदै गएपछि साना सडक पालिकालाई हस्तान्तरण गर्न लागिएको बताए ।
सडक डिभिजन काठमाडौँ र ललितपुरले महानगरपालिकालाई हस्तान्तरण गर्न लागिएका सडकको सूची सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयलाई बुझाइसकेको छ । काठमाडौँ महानगरको सिमानाभित्र पर्ने चक्रपथ, अरनिको राजमार्ग र ‘भिआइपी’ सडक भनेर चिनिने त्रिपुरेश्वर, बालुवाटार, सिंहदरबार, पुतलीसडक सडक डिभिजन काठमाडौँमातहत नै रहने छन् । त्यसै गरी ललितपुर महानगरपालिकाको सिमानाभित्र पर्ने थापाथली पुलदेखि जावलाखेल–एकान्तकुना–ग्वार्को–सातदोबाटो गोदावरी, भैँसेपाटी, लुभुलगायतका मुख्य सडक सडक डिभिजन ललितपुरमातहत नै रहने छन् ।
