सुर्यविनायक धुलिखेल सडक विस्तार सुस्त
८ महिनामा ६५ प्रतिशत काम सक्ने आयोजनाको दाबी


अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको निर्माण लक्ष्य अनुसार हुन सकिरहेको छैन । निर्माणाधिन यो सडकको हालसम्मको भौतिक प्रगति ४० प्रतिशत मात्र पुगेको छ । सुर्यविनायक –धुलिखेल–धुलिखेल–सिन्धुली –वर्दिवास सडक आयोजनाका अनुसार सूर्यविनायक–साँगा खण्डमा ३५ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ४५ प्रतिशत काम भएको हो ।
६ लेनको सडक विस्तार गर्न २ खण्डमा विभाजन गरेर विस्तार भइरहेको छ । सुर्यविनायक साँगा पहिलो र साँगा धुलिखेल दोस्रो खण्डमा विभाजन गरेर निर्माण भइरहेको छ । ठेक्का सम्झौता गर्दा तीन वर्षमा सक्ने लक्ष्य राखिएको भएपनि सरकारले आयोजनाको पूर्व तयारी र पर्याप्त बजेट व्यवस्थापन गर्न नसक्दा आयोजनाले गति नलिएको निर्माण व्यवसायीहरु बताउँछन् । सात अर्ब भन्दा बढीको ठेक्का लगाएर ५४ करोड बजेट विनियोजन भएका कारण लक्ष्य अनुसारको काम गर्न नसकेको व्यवसायीहरुको तर्क छ । निर्माण थालिएको २ वर्ष भन्दा बढी समय बित्दा समेत सडक क्षेत्रको विवाद समाधान हुन सकिरहेको छैन ।
स्थानीयहरुको मुअब्जा, मठमन्दिर लगायतका क्षेत्रमा देखिएको विवाद समाधान गर्न सरकारी पक्ष उदासिन देखिएको छ । सरकारले टेण्डर अघि नै आयोजना क्षेत्रको विवाद समाधान गर्नु पर्ने भएपनि त्यो कार्यान्वयन हुन सकिरहेको छैन । जसको असर आयोजना निर्माणमा समेत देखिने गरेको छ । कुल १६ किलोमिटर लम्बाई रहेको यो सडक तीन वर्ष भित्र सक्ने लक्ष्य राखिएको थियो । तर निर्माण अवधी सकिन ८ महिना मात्र बाँकी हुदाँ ४० प्रतिशत मात्रै भौतिक प्रगती भएको छ । तर आयोजना प्रमुख भने ८ महिनामा निर्माण सक्ने दाबी गर्दै आइरहेका छन् ।
२०७९ पुस २४ बाट निर्माण थालिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
पहिलो चरणमा साँगादेखि धुलिखेल ८ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका गर्न चार अर्ब पाँच करोड ६४ लाख लागत अनुमान गरिएको छ । भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्डको ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता गरिएको थियो । यो सडक क्षेत्रमा पुल निर्माण गर्न १ अर्ब भन्दा बढी आवश्यक पर्ने आयोजनाको भनाई छ ।
