घर बनाउदा ध्यान दिनु पर्ने वास्तु सम्बन्धी १७ तथ्य
वास्तुशास्त्र प्राचीन विज्ञान हो । यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको बयान छ । वास्तु शिल्पशास्त्रलाई दुई भागमा बाँडिएको छ( देवशिल्प र मानवशिल्प । देवशिल्पमा मठमन्दिर, यज्ञशाला आदि धार्मिक संरचना निर्माण विधि सुझाइएको छ भने मानवशिल्पमा आवासीय भवनका विभिन्न कक्षहरू बनाउँदा ख्याल गर्नुपर्ने दिशा र कोणहरूबारे उल्लेख छ । मानव शिल्पले घर कसरी निर्माण गर्नुपर्छ भन्ने सिकाउँछ । वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ । यस्तो घरमा बस्दा उत्साह, उमङ्ग र उल्लासको अनुभूति हुन्छ्र । वास्तुशास्त्रले घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी दिन्छ ।
‘वास्तुशास्त्र’ एउटा आर्किटेक्चर प्रणाली हो जसले ‘वास्तुशास्त्र’का सिद्धान्तहरुलाई प्रयोग गरेर भवन, घर, अफिस, स्कूल जस्ता संरचनाहरुको लेआउट तयार पार्न मद्दत गर्छ । यसलाई दिशाहरुको विज्ञान पनि मान्न सकिन्छ जसले प्रकृतिको पञ्चतत्व – पृथ्वी, जल, अग्नि, वायु र ब्रहमाण्डलाई मानिस र वस्तुहरुमा सन्तुलित गर्छ । वास्तुशास्त्रमा विशेष गरी हिन्दू मन्दिरहरूका साथै विभिन्न घर, सहर, बगैंचा, सडक, पसल लगायत अन्य सार्वजनिक क्षेत्रहरुको योजना, डिजाइन र निर्माणका विषयमा लेखिएको छ ।
वास्तुअनुसार विभिन्न दिशाहरुमा विभिन्न देवताहरुको अधिकार हुन्छ जस्तै दक्षिण–पूर्व दिशामा अग्नि देवको अधिकार हुन्छ जसले गर्दा दक्षिण–पुर्वमा भान्छा राख्नु उपयुक्त हुन्छ । तर धेरै सिद्धान्तहरु साधारण अर्थमा बुझिने सामान्य वायु संचार (खभलतष्बितष्यल), सूर्य किरणको मात्रा, आदि जस्ता कुरासँग सम्बन्धित छन् ।
वास्तुशास्त्र अनुसार हरेक जमिनको अथवा भवनको टुक्रामा आफ्नै एउटा आत्मा हुन्छ र त्यो आत्मालाई ‘वास्तु पुरुष’ नाम दिइएको छ । हरेक वास्तु घरमा कम्पाउन्ड वाल हुनुपर्छ जहाँ भित्र वास्तु पुरुषलाई राखिन्छ र वास्तु मण्डला अनुसार विभिन्न किसिमका घरहरु बनाइन्छ । अन्धविश्वासको रुपमा लिइने वास्तुशास्त्रलाई अहिलेको आधुनिक युगमा आर्किटेक्चर शाखामा एउटा दिशानिर्देश र अवधारणाका रुपमा मात्र लिइने गरिएको छ ।
शान्ति, धन, समृद्धि र सकारात्मक उर्जा भित्र्याउने उद्देश्यले आर्किटेक्चरमा वास्तुको प्रयोग गरिन्छ । वास्तु प्रयोग नगरिएका भवनहरूमा पैसाको क्षति, स्वास्थ्यमा समस्या र कहिलेकाहिँ निवासीको असामान्य मृत्यु हुनसक्ने स्थिति देखिएको छ ।
वास्तुशास्त्रको आधार
मूल ढोका
कुनै पनि घरको मुख्य प्रवेशद्वार अत्यन्त सुशोभित हुनु वास्तुका दृष्टिकोणले राम्रो मानिन्छ । यसले प्रतिष्ठा बढाउँछ । प्रमुख प्रवेशद्वार अन्य ढोकाभन्दा अग्लो तथा ठूलो हुनुपर्छ । प्रवेशद्वारमा तोरण बाँध्नुपर्छ । यसो गर्दा देवी–देवता खुसी भइ घरमा बास बस्न आउँछन् । पर्खालको पूर्व र उत्तरतर्फ प्रमुख गेट भए समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ । ढोका राम्रोसँग खुल्ने तथा कुनै आवाज ननिस्कने हुनुपर्छ । घरको कुनै पनि ढोका धरातलभन्दा तल हुनुहुँदैन । ढोका नैऋत्य र वायव्य कोणमा बनाउनुपर्छ । ढोका आफै खुल्ने–बन्द हुने राम्रो मानिन्न ।
पूर्व दिशा
यो दिशामा खुला स्थान तथा प्रवेशद्धार भयो भने गृहस्वामीको उमेर लामो, मान–सम्मान तथा सुख–शान्ति प्राप्त हुन्छ । यो दिशा भूमिको तल्लो भागमा हुनुपर्छ । बरन्डा, ढोका, झ्याल, बास बेसिन आदि यो दिशामा बनाउनुपर्छ । बालबालिकाहरूले यो दिशातर्फ फर्केर अध्ययन गरे सकारात्मक परिणाम आउँछ । पूर्वमा वास्तु दोष भए सूर्ययन्त्रको स्थापना गर्नुपर्छ । सूर्यलाई अघ्र्र्य दिनुपर्छ । सूर्यको उपासना गरी पूर्व ढोकामा मंगलकारी तोरण झुन्डाउनुपर्छ ।
दक्षिण–पूर्व दिशा
यसलाई आग्नेय भनिन्छ । यो दिशामा अग्निसँग सम्बन्धित कार्य गर्नुपर्छ । किचन, ट्रान्सर्फमर, जेनेरेटर आदि यो दिशामा राख्नुपर्छ । यसका साथै यो दिशामा काम गर्नेको कोठा, ट्वाइलेट आदि बनाउन सकिन्छ । यसमा वास्तु दोष भए मंगलका लागि ढोकामा मंगलकारी यन्त्र राख्नुपर्छ । ढोकाको बाहिरी एवं भित्री भागमा हरियो रंगको गणेश स्थापना गरी गणेशको पूजा गर्नुपर्छ ।
दक्षिण दिशा
यो दिशा पनि सकेसम्म खुला भएको राम्रो । यो ठाउँमा कुनै प्रकारको खाल्टो अथवा चर्पी हुनुहुँदैन । यो दिशामा भवन अग्लो ठाउँमा छ भने गृहस्वामीलाई सुख, समृद्धि र निरोगी राख्छ । यो दिशा धन राख्न उपयुक्त मानिन्छ । दक्षिण दिशामा वास्तुदोष छ भने घर वा ढोकामा मंगलकारी तोरण झुन्डाउनुपर्छ । यहाँ गणेश पनि झुन्डाउन सकिन्छ । यहाँको वास्तु दोष मेट्न हनुमान तथा भैरवको उपासना लाभदायक हुन्छ ।
दक्षिण–पश्चिम दिशा
यो दिशालाई नैऋत्य भनिन्छ । परिवारको मुलीको कोठा यही दिशामा हुनुपर्छ तर भुलेर पनि काम गर्नेहरूको बस्ने कोठा यो दिशामा बनाउनुहुँदैन । मेसिन तथा क्यास काउन्टर पनि यही दिशामा बनाउनुपर्छ । यो दिशालाई खुल्ला छाड्नुहुँदैन । यहाँ झ्याल बनाउनुहुँदैन । वास्तु दोष भए घरमा राहुयन्त्र स्थापना गरी पूजा गर्नुपर्छ । प्रवेशद्वारमा सुन्तला रंगको गणेश स्थापना गर्नुपर्छ ।
पश्चिम दिशा
यो दिशामा भवन वा भूमि तुलनात्मक रूपमा अग्लो भए घरका सबै सदस्यले सफलता र यश प्राप्त गर्छन् । भोजन कक्ष, शौचालय आदि यो दिशामा बनाउनुपर्छ । पश्चिममा वास्तु दोष भए घरमा वरुणयन्त्र स्थापना गर्नुपर्छ । शनिबार व्रत बस्नुपर्छ ।
उत्तर–पश्चिम दिशा
यसलाई वायव्यकोण पनि भनिन्छ । वायव्य कोणमा गोठ, बेडरुम, ग्यारेज आदि बनाउनुपर्छ । काम गर्नेहरूको कोठा पनि यही दिशामा हुनुपर्छ । वायव्यमा वास्तु दोष भए ढोकाको भित्री तथा बाहिरी भागमा सेतो गणेश वा श्रीयन्त्र स्थापना गर्नुपर्छ । घरमा चन्द्रयन्त्र राख्नुपर्छ ।
पूजाकोठा
घरमा कुलदेवताको चित्र हुनु अत्यन्त शुभ मानिन्छ । यसलाई पूर्व वा उत्तर भित्तामा झुन्डाउनुपर्छ । पूजाघरको द्वार टिन वा फलामको हुनुहुँदैन । आश्विन महिनामा दुर्गा माताको मन्दिर स्थापना गर्नु शुभ मानिन्छ । यसबाट पुण्य प्राप्त हुन्छ । घरमा एक बित्ताभन्दा ठूलो पत्थरको मूर्ति स्थापना गर्नाले गृहस्वामीलाई सन्तान प्राप्त हुँदैन । पूजा कोठा शयन कक्षमा बनाउनुहुँदैन । पूजाकोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन । घरमा शिवलिङ्ग, तीन गणेश, दुई शंख, दुई सूर्यका प्रतिमा, तीन देवीका प्रतिमा, दुई गोमती चक्र र दुई शालिग्रामले गृहस्वामीमा अशान्ति ल्याउँछन् । पूजाकोठाको रंग हलुका क्रिम तथा सेतो हुनुपर्छ । भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नुहुँदैन । यसले काममा अवरोध उत्पन्न गर्छ ।
भान्सा कोठा
भान्सामा तीनवटा पिर्का राख्नुहुँदैन । यसले घरमा झगडाको वातावरण निम्त्याउँछ । भान्सामा कहिल्यै रुनुहुँदैन । यसो गर्दा बिरामी पर्न सकिन्छ । खाना पकाउने ग्यास पूर्व दिशामा हुनुपर्छ । यदि भान्सा आग्नेय वा वायव्य कोणलाई छोडेर अन्य कोणमा भए वर्नरको स्थिति आग्नेय कोणमा हुनुपर्छ । भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुनुहुँदैन । यसो गर्दा माता अन्नपूर्णको कृपा सधैं रहन्छ । भान्सा घरको दक्षिण–पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर–पश्चिममा पनि निर्माण गर्न सकिन्छ ।
भोजन कक्ष
खानपिन कक्षको रंग हलुका हरियो तथा नीलो बनाउनुपर्छ । पूर्व फर्केर खाना खाँदा मानिसको उमेर बढ्छ । दक्षिण फर्केर खाना खाँदा प्रेतत्व प्राप्ति हुन्छ । पश्चिम मुख गरी खानाले मनुष्य रोगी बन्छ । उत्तर फर्केर खाँदा आय तथा धन प्राप्ति हुन्छ ।
शयन कक्ष
शयन कक्ष पूजा गर्ने स्थानमा हुनुहुँदैन । शयनकक्ष पूर्व हुनुलाई शुभ मानिन्छ । यसले नियन्त्रण शक्तिमा वृद्धि हुन्छ । धन–सम्पत्तिको चाहना राख्नेहरूले अन्न, गृह, गुरू, अग्नि र देवताको स्थानमाथि सुत्नुहुँदैन । अन्न भण्डार, गौशाला, गुरूस्थान, भान्सा र मन्दिर सुत्ने कोठामाथि बनाउनुहुँदैन । शयनकक्ष नैऋत्यदेखि आग्नेय तथा नैऋत्यदेखि वायव्यतर्फ नै बनाउनुपर्छ । घरका अग्रजहरूको कोठा पश्चिम–दक्षिणतर्फ बनाउनुपर्छ । आफूभन्दा सानाको कोठा पूर्व वा उत्तरतिर बनाउनुपर्छ । यसो गर्दा सम्बन्धमा सहजता उत्पन्न हुन्छ । सधै पूर्व वा दक्षिणतर्फ सिरानी गरी सुत्नुपर्छ । पूर्वतर्फ शिर गरेर सुत्नाले विद्या प्राप्त हुन्छ । दक्षिणतर्फ शिर गरी सुत्दा धन तथा आयु वृद्धि हुन्छ । पश्चिमतर्फ शिर गरी सुत्दा चिन्ता बढ्छ । उत्तरतर्फ शिर गरी सुत्दा आयु घट्छ ।
शौचालय
इशान कोण शौचालयका लागि अशुभ मानिन्छ । यसले जीवनमा कुनै न कुनै बाधा उत्पन्न गराउँछ । शौचालयमा मार्बल लगाउनुहुँदैन । शौचालयको भित्ता र टायल्सको रंग आफ्नो चाहनाअनुरूप राख्न सकिन्छ ।
घरमुली भए
घरको नैऋत्य कोण शयनकक्षका लागि शुभ मानिन्छ । यो कोणमा घरको ठूलो स्टोर हुनुपर्छ । सुत्दा सिरानी दक्षिण वा पूर्वतिर हुनुपर्छ । घर एकतल्ले भन्दा बढी भए गृहस्वामीको कोठा सबैभन्दा माथि निर्माण गर्नुपर्छ ।
बाल बालिका कक्ष
बालबालिकाहरूको शयनकक्ष पूर्व वा इशान कोणमा हुनुलाई शुभ मानिन्छ अध्ययन भवन, सभा र पठनपाठनका लागि यो क्षेत्र शुभ मानिन्छ ।
पाहुना कोठा
पाहुनाका लागि बनाइने स्थान उत्तर–पश्चिम वा त्यसको आसपास हुनुपर्छ ।
व्यक्तिगत कोठा
संगीत वा नृत्य साधना आदिका लागि अलग स्थान बनाउन नसकिए दक्षिण–पूर्वमा बनाउनुपर्छ । मनोरञ्जन कक्ष दक्षिण वा पश्चिम नैऋत्यको नजिक बनाउनुपर्छ ।
ताजा अपडेट
-
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
-
महानगरपालिकाका ३२ वटै वडामा मौलिकता झल्किने, परम्परागत नेपाली शैली र एकै स्वरुपका भवन
-
देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण
-
घर बनाउदा ध्यान दिनु पर्ने वास्तु सम्बन्धी १७ तथ्य
-
वडाध्यक्षले भत्काए गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरी बनाइएको ड्रेन