देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण

२०७८ फागुन २ गते ५:४३

सरकारले देशभरिका गाउँब्लकमा रहेका नागरिकलाई जग्गाधनी पूर्जा वितरणको अभियान सञ्चालन गरेको छ । सोही अभियानअन्तर्गत हालसम्म देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ ।

सरकारले चितवन, सप्तरी, महोत्तरीलगायत जिल्लाका गाउँ ब्लकमा रहेकालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिसकेको छ । केही दिन अघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सो क्षेत्रमा पुगेर जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी थिइन् ।

महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउँपालिकाको गाउँ ब्लकमा रहेकालाई जग्गाधनी पूर्जा वितरण गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

यसैबीच मन्त्री श्रेष्ठले चितवनको इच्छाकामना गाउँपालिको गाउँब्लकमा रहेका ३६ भू्मिहिनलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरेकी हुन् । जग्गाधनी पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकार लागि परेको बताएकी थिइन् ।

उनले भूमिहिन दलित, सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न स्थानीय तहसँग सम्झौता गरेर काम अगाडि बढाइएको बताए । २०२१ सालयता नापी हुँदा गाउँब्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकालाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न थालिएको उनको भनाइ छ ।

यसैबीच आजै भूमि, व्यवस्थामन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोग र इच्छाकामना गाउँपालिकाबीच भूमिहीन दलित, सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ ।

आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहीन दलित र सुकुम्वासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम सुरु गरिसकेको छ ।