घर जग्गा किन्न बैंकको ऋण चाहियो ?
काठमाडौं । घर जग्गा नहुनेका लागि नेपालमा सबैभन्दा ठूलो सपना हो, एक टुक्रो जग्गा जोड्ने वा घामपानी छेक्ने छत हाल्ने । तर हामी सबैसँग यति धेरै पैसा पनि छैन कि दुवै कुरा जोड्न सकियोस् । यसले हामी पुग्ने पैसा जम्मा गरेर मात्र जग्गा वा घर किन्ने सोच राखेर पैसा जम्मा गर्नमा जुनी काट्छौँ । तर अहिले तपाईंसँग भएको अपुग पूँजीले पनि घर वा जग्गा जोड्ने सपना पूरा गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले लिनुपर्नेछ, बैंकहरुको सहयोग ।
तर तपाई हामीजस्तो मध्यम आयस्तर भएकाले थोरै समझदारी अपनाउने हो भने बैंक तथा वित्तीय संस्थाको सहयोग लिएर आफ्नो घर वा जग्गा जोड्ने सपना साकार पार्न सक्छौँ ।
तर हामीले ऋण लिनका लागि केही महत्वपूर्ण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ जुन हुँदा मात्र बैंकले ऋण पत्याउँछन् । बैंकबाट ऋण लिनका लागि के के कुरा चाहिन्छ, तल हामी बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।
धितो
ऋण दिनलाई सबैभन्दा पहिले बैंकले खोज्ने वस्तु हो धितो । ऋण लिनका लागि हामी बैंकमा हाम्रो केही न केही सामान राख्नैपर्ने हुन्छ । अन्यथा बैंकले ऋण पत्याउँदैनन् । घर वा जग्गा किन्नलाई पनि ऋण लिने हो भने सबैभन्दा पहिला तपाईंले धितोको जोहो गर्नुपर्ने हुन्छ । यो धितो किन्न लागेका जग्गा वा बन्न लागेको घर हुन्छ वा तपाईं आफ्नो स्वामित्व रहेको अर्को कुनै घर वा जग्गा राखेर पनि ऋण लिन सक्नुहुन्छ ।
घर वा जग्गा राखेर मात्र पनि बैंकले ऋण पत्याउँछन् भन्ने कुनै ग्यारेन्टी हुन्न । ऋण दिनलाई बैंकका पनि आफ्नै केही सर्तहरु हुन्छन् जुन पूरा हुँदा मात्र ऋणीलाई ऋण पत्याउँछन् । जस्तो कि तपाईंले धितो राख्ने जग्गा वा घर कम्तिमा ८ फिटको बाटोमा हुनुपर्छ । ८ फिटको पनि बाटो छैन भने ऋण लिने कुरा सोच्दै नसोच्दा हुन्छ ।
योबाहेक अरु सर्त पनि छन् जुन जान्न यो लेख पढ्नुहोस् र
आवश्यक कागजात
होम लोन बैंकहरुको सदाबहार स्किम हो । बैंकहरुले सकेसम्म सस्तोमा घर जग्गा ऋणको योजना अगाडि सारेको दाबी गर्छन् । यो देखेर हामीलाई लाग्नसक्छ, बैंकहरु ऋण दिन आतुर छन् दिइहाल्छन् नी । तर कागजातका ठेली बैंकलाई बुझाएपछि मात्र बैंकले ऋण दिने प्रक्रिया सुरु गर्छन् ।
धितो सम्बन्धी कागजातहरु
१. लालपुर्जा र राजिनामा पत्र
२. नापी विभागबाट ब्लु प्रिन्ट र देश म्याप, चार किल्ला, तिरो तिरेको रसिद र घरको कर तिरेको रसिद ।
३. नक्सा पास र घर निर्माण ईजाजत र स्विकृतीपत्र (घर निर्माण र घर खरिदको लागि)
३.घर खरिद गर्न कर्जा लिँदा–घर निर्माण सम्पन्न पत्र र सो अनुसार लालपुर्जामा कायम भएको घर ।
४.जग्गा धनी, ऋणी र जमानीकर्ता प्रत्येकको २ प्रतिफोटो र नागरिकताको प्रमाणपत्र ।
आयस्रोत देखाउँदा बैंकमा पेस गर्नुपर्ने कागजात
१. आम्दानी तलवको सर्टिफिकेट र तलव खाताको बैंक स्टेटमेन्ट ।
२. पेन्सन पट्टाको किताब र सम्बन्धी पेन्सन खाताको बैंक स्टेटमेन्ट ।
३. घरघाडाबाट आय भएमा घर भाडाको सहमतिपत्र आदि ।
४. फर्मको रजिष्ट्रेसन र प्यान र भ्याट दर्ताको प्रमाणपत्र ।
५. कर चुक्ताको प्रमाणपत्र ।
६. व्यक्ति वा फर्मको नाममा कुनै पनि बैंकमा रहेको खाताको बिगत कम्तिमा ६ महिना अगाडिदेखिको बैंक स्टेटमेन्ट ।
७. आर्थिक कारोबारको विवरणहरु । (वासलात र नाफा नोक्सान इत्यादि)
८. ५० लाख रुपैयाँ वा सो भन्दा माथिको घर कर्जा आवश्यक परेमा व्यक्तिगत प्यान सर्टिफिकेट ।
९. बैंकले आवश्यक ठानेका अन्य कागजातहरु ।
माथि उल्लेखित सम्पुर्ण कागजातका पूर्वतयारी गरेर बैंकमा घर जग्गा कर्जा आवेदन दिन गएमा बैंकले उचित मूल्यांकन गरी आवश्यक प्रक्रिया अघि बढाउँछ ।
ऋणीको योग्यता
नेपाल राष्ट्र बैंकले व्यक्तिगत कर्जा तथा आवधिक कर्जा प्रवाह गर्दा मासिक किस्ता भुक्तानीको २ गुना आम्दानी हुन पर्ने व्यवस्था गरेको छ । जसअनुसार ऋणी, निजको श्रीमान वा श्रीमती अथवा एकाघर परिवारका सदस्यको कुल आम्दानी गरी कर्जाको मासिक किस्ता भुक्तानी २ गुना पुग्नु पर्छ ।
तलबी र व्यवसायिक तथा अन्य आम्दानी) को हुन आउने रकम मासिक किस्ता रकमको कम्तिमा पनि २ गुना भए मात्र बैंकले कर्जाको प्रक्रिया अघि बढाउँछ ।
साथै बैंक तथा वित्तीय संस्थाले ऋणीको उमेरसमेत निर्धारण गरेको हुन्छ । जसमा बैंकअनुसार ऋणीको उमेरहद ६० वर्षदेखि ७० वर्ष तोकिएको हुन्छ भने नाबालिगको हकमा पनि बैंकले कर्जा दिँदैन ।
कर्जा भुक्तानीको अवधि
बैंक तथा वित्तीय संस्थाले आवासीय घर जग्गा निर्माण तथा खरिदको लागि प्रवाह गर्ने कर्जा भुक्तानीको अवधि तोकेको हुन्छ । जसमा बैंकले बढीमा २५ वर्षको लागि अधिकतम ३ सय किस्तामा भुक्तानी गर्ने गरी ऋण प्रवाह गर्ने गरेका छन् ।
तर सो किस्ता बैंकले तोकेको उमेर हदभन्दा अगावै तिरिसक्नु पर्ने हुन्छ । मानौं कुनै ५५ वर्षको व्यक्ति एक बैंकबाट ७५ लाख रुपैयाँ २० वर्षे घर कर्जा लिएको छ । तर बैंकले ऋणीको अधिकतम उमेरहद ६५ वर्ष तोकेको छ भने ऋणीले १० वर्षभित्र नै कर्जाको किस्ता भुक्तानी गर्नु पर्छ ।
घर जग्गा कर्जाको सीमा
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवासीय घर निर्माणको लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले तोकेको सीमाभित्र रहेर बैंकहरु घर निर्माणको लागि नक्सा पास गरी इन्जिनियरले घर निर्माण गर्न अनुमान गरेको लागतको ८० प्रतिशतसम्म कर्जा दिन्छन् ।
यदि तपाईं बनिसकेको घर खरिद गर्नको लागि बैंकबाट कर्जा लिन चाहनु हुन्छ भने बैंकले घर जग्गा दुवैको मूल्यांकन गरेर सोको ७५ प्रतिशत कर्जा दिन्छ । साथै, घर निर्माणको लागि जग्गा खरिदमा गर्न जग्गा मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा बैंकले दिन्छ ।
ब्याजदर निर्धारण
अहिले प्राय जसो बैंकहरुले घर जग्गा कर्जा योजना ल्याएका छन् । जसकारण घर जग्गा कर्जाको ब्याजदर अन्य कर्जाको तुलनामा सस्तो छ ।
तर बैंकबाट कर्जा लिने ऋणीले आवश्यक कागजात पुर्याएर कर्जाको लागि आवेदन दिँदा ब्याजदरमा मोलमोलाई गर्न सक्छन् ।
बैंक तथा वित्तीय संस्थाले जुनसुकै कर्जा प्रवाह गर्दा पनि आधारदर (बेसरेट) मा केही प्रतिशत प्रिमियम थप गरी प्रवाह गर्छन् ।
पास भएको कर्जा बैंकबाट भुक्तानीको प्रक्रिया
बैंक तथा वित्तीय संस्थाहरुले धितोको उचित मुल्यांकन गरी घर जग्गा कर्जा पास गरेपनि एकमुष्ट रुपमा कर्जाको रकम भने ऋणीलाई दिँदैनन् ।
ऋणीले घर बनाउन सुरु गर्नुभन्दा अगाडिबाट कर्जाको केही प्रतिशत ऋणीले बैंकबाट पाउँछ । त्यसपछि घर निर्माणको आवश्यक खर्चको मूल्यांकन गरी किस्तामा बैंकले कर्जाको रकम ऋणीलाई दिन्छ ।
यदि पास भएको ऋणको परिमाणभन्दा थोरै रकम घर बनाउन खर्च भएका सोही अनुसारकोे स्टेटमेन्ट बनाउँछ । पास भएको कर्जाको परिमाणभन्दा धेरै रकम घर बनाउन लागेमा आवश्यक मूल्यांकन र प्रक्रिया पूरा गरी बैंकले ऋणीलाई थप कर्जा दिन्छ ।
सम्बन्धित
ताजा अपडेट
-
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
-
महानगरपालिकाका ३२ वटै वडामा मौलिकता झल्किने, परम्परागत नेपाली शैली र एकै स्वरुपका भवन
-
देशभर करिब १२ हजार घरपरिवारलाई लालपूर्जा वितरण
-
घर बनाउदा ध्यान दिनु पर्ने वास्तु सम्बन्धी १७ तथ्य
-
वडाध्यक्षले भत्काए गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग गरी बनाइएको ड्रेन